Logo

समाचार

कांग्रेस महाधिवेशन: ड्रोन क्यामेरासमेत प्रयोग गरेर निगरानी, महाधिवेशनस्थलमा तीन सुरक्षा घेरा



काठमाडौं । आजबाट सुरु हुन लागेको नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि महाधिवेशन स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

ठाउँठाउँमा सिसीक्यामेरा जडान गरिएको छ भने ड्रोन क्यामेरा उडाएर समेत निगरानी गर्ने व्यवस्था मिलाइएको महानगरिय प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रतिनिधि बस्ने सुन्धारा, ठमेललगायत ठाउँमा समेत चौबीसै घण्टा सुरक्षाकर्मी रहने गरी व्यवस्थापन गरिएको छ । उपत्यकाका तीनवटै जिल्लामा प्रहरीले आवश्यकतानुसार सुरक्षा सतर्कता बढाएको छ । थप टोलीसमेत खटाइएको छ । मुख्यगरी महानगरीय प्रहरी कार्यालयको नेतृत्वमा आज उपत्यकामा सुरक्षा प्रबन्ध गरिएको छ ।

महाधिवेशनलाई मात्रै केन्द्रित गरेर पाँच हजार बढी प्रहरी खटाइएको छ । कार्यक्रमस्थललाई तीन घेरामा सुरक्षा व्यवस्था मिलाइएको र चक्रपथ तथा उपत्यका प्रवेश नाकाका लागि छुट्टै घेरामा प्रहरी परिचालन गरिएको छ । भिभीआइपी र भिआइपीको रुटमा छुट्टै सुरक्षा प्रबन्ध गरिएको छ । महाधिवेशन सुरक्षाका लागि सादा पोशाकमा पनि प्रहरी परिचालित हुनेछन् । 

पैदल, मोबाइल गस्ती नियमित रहनेछन् । उद्घाटन समारोहका बेला आज हुनसक्ने सवारी चापलाई मध्यनजर गरी ट्राफिक व्यवस्थापनमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले आवश्यक व्यवस्था मिलाएको छ । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले रुट व्यवस्थापनका लागि ट्रााफिक मात्रै ३५० बढी परिचालन गरिएको जानकारी दिए ।

नियमित ड्युटीमा रहने प्रहरी यथावत रहनेछन् । कार्यक्रमस्थलमा सवारी जाम नहोस् भनेर प्रहरीले पद्मोदय मोड, कमलादी मोड, सभागृहमोड, सिंहदरबार चोक र माइतीघरबाट ट्राफिक डाइभर्सन गरेको छ ।  त्यस कार्यका लागि १८ ट्राफिक प्रहरी खटाइएको छ ।

टुँडिखेल वरपर अत्यधिक सवारी साधनको चाप भएमा भने त्रिपुरेश्वर चोक, बालाजु चोक, नारायणगोपाल, कलङ्की, बल्खु, जावलाखेल, तीनकुने र गौशाला चोकबाट नै डाइभर्सन गर्ने गरी योजना बनाइएको छ । त्यस कार्यका लागि २४ ट्राफिक प्रहरी खटाइएको छ ।

महाशाखाका अनुसार झण्डावाला, पार्टी अध्यक्षहरू र विदेशी पर्यवेक्षकका सवारी साधनका लागि भृकुटीमण्डपको सभाहल पछाडि पार्किङको व्यवस्था मिलाइएको छ । अन्य भिआइपीका सवारी साधन राष्ट्रिय सभागृहमा राखिने छन् ।

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  १२ : ०५ बजे