काठमाडौं । सभापतिको साझा उम्मेदवार तय गर्न नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक बस्दै छ । मंगलबार दिनभर सभापतिका आकांक्षीसहित केन्द्रीय सदस्यहरूको बैठकले सभापति चयन गर्न नसकेपछि बुधबार फेरि नेताहरू छलफलमा जुट्ने भएका हुन् ।
नेता पौडेलका अनुसार आज बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा आफूनिकट जिल्ला सभापति, पूर्वजिल्ला सभापति, सात वटै प्रदेशका अध्यक्षका उम्मेदवार र क्षेत्रीय सभापतिहरुसँग सभापतिका उम्मेदवारबारे सुझाव लिने कार्यक्रम तय भएको छ । ‘उनीहरूको कस्तो सुझाव आउँछ, त्यही अनुसार हामीले सभापतिको उम्मेदवार तय गर्छौं,’ नेता पौडेलले भने ।
पौडेल समूहमा सभापतिका लागि पौडेलसहित पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइरालाको दाबी छ । महामन्त्री डा. शशांक कोइरालाले सहमतिका लागि आफू सभापतिको दौडबाट बाहिरिएका छन् ।
नेता पौडेलले पनि सहमतिको बाधक नबन्ने बताएका छन् तर सभापतिका आकांक्षी सिंह र कोइरालाबीच समझदारी नभए आफैं अगाडि सर्ने पौडेलको रणनीति छ । सभापतिको उम्मेदवार टुंग्याउन नै सकस भइरहेका बेला पौडेल समूहबाट पदाधिकारीका उम्मेदवारको पनि टुंगो लागिसकेको छैन।
कांग्रेस महाधिवेशन मंसिर २४–२७ सम्म काठमाडौंमा हुँदैछ । शुक्रबार महाधिवेशन उद्घाटन हुनेछ भने शनिबार उम्मेदवार मनोनयन दर्ताको समय तोकिएको छ । मंसिर २७ गते अर्थात् सोमबार बिहानैदेखि मतदान प्रक्रिया सुरु हुने निर्वाचन कार्यतालिकामा उल्लेख छ ।
प्रतिक्रिया