Logo

समाचार

ओली भन्नुहुन्छ, सहमति भएको छैन , देउवाजी भन्नुहुन्छ– ढाँट्न जान्दिनँ : प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई राष्ट्रिय सहमतिको सरकारको विषयमा झुट बोेलेको बताएका छन् । १७ गते मध्यरातमा सहमति गरे पनि १८ गते बिहान आफूसँग संवाद हुँदा सहमति होइन भनेर ओलीले झुट बोलेको उनले बताए ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्दै उनले दुई दलको बीचमा सहमति भएर हस्ताक्षर भइसके पनि आफूलाई भने गुम्रहामा राखिएको टिप्पणी गरे ।

‘१७ गते राति सहमति भइसकेपछि १८ गते बिहान नेकपा एमाले अध्यक्षले केही भएको छैन भन्नुभयो,’ प्रचण्डले भने, ‘मैले पत्रिका देखाएर यी तपाईं र शेरबहादुरजीले हस्ताक्षर गरेको भनेँ तर उहाँले यो कहिलेको फोटो रहेछ भन्नुभयो उहाँले । ढाँटछलको पनि एउटा सीमा हुन्छ नि ।’

त्यसपछि आफूले शेरबहादुर देउवालाई सम्पर्क गरेको उनले बताए । ‘शेरबहादुरजीलाई फोन गरेर तीन पार्टी बस्ने हो अनि मात्र के गर्ने भनेर ओलीजीले भन्नुभयो । त्यसैले कांग्रेस सभापतिलाई फोन गरेको भनेँ,’ प्रचण्डले भने, ‘एमाले अध्यक्षले सहमति भएको छैन दिउँसो ४ बजे तीन नेता बसेर टुंगो लगाउने भन्नु भएको छ भनेँ ।’

त्यसपछि देउवाले सत्य कुरा बताएको प्रचण्डको भनाइ छ । ‘अनि सभापतिले म ढाँट्न जान्दिनँ, सहमति भइसक्यो सरी भन्नुहुन्छ । यो तीनवटा बस्न आवश्यक छैन । अब के गर्ने भइसक्यो भनेर आफ्नो शैलीमा भन्नुभयो,’ उनले भने, ‘यस्तो तरिका अपनाउनुपर्छ दुई ठूला दलहरूले ?’

प्रधानमन्त्री प्रचण्डले दिनकै उज्यालोमा खुला रूपमा सहमति गर्न सकिने भन्दै षड्यन्त्र आवश्यक नभएको बताए ।

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  १ : १७ बजे